नगरप्रमुख रामचन्द्र जोशीद्धारा तलब भत्ताबाट विपन्न परिवार र विधार्थीलाइ सहयोग

४ भाद्र २०७५, सोमबार १३:१९

भदौ ४, काठमाडौं ।

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवार र विधार्थीलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेको जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन् । नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताए ।

उनले कुश्मा नगरपालिकास्थित जगदम्बा प्रा.वि.का २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरेका हुन् ।

जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण मा.वि.का एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गरे ।

आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उनले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए ।

करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भइरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकको व्यवस्थापन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ ।