नक्कली सवारी लाइसेन्ससहित भक्तपुरबाट एक पक्राउ

२४ मंसिर २०७७, बुधबार ११:४३

भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्ससहित एक जना पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका ६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपालचोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ ठिमी बस्ने २८ वर्षीय आशिष गिरी छन्।

महाशाखाको पीडित सहायता इकाईमा आएको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनले चलाउँदै आएको बा १५ च ४३८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ।

त्यस्तै उनीबाट ३८ वटा किर्ते सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरेको महाशाखाले जनाएको छ।

उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाइएको छ।