धुमधामसँग मनाईदै छ्, ऋषिपञ्चमी पर्व

२९ भाद्र २०७५, शुक्रबार ०८:३७

नेपाली हिन्दु महिलाहरुले आजको दिनलाई विषेश दिनको रुपमा पुजा गर्ने गरेका छन् । ऋषिपञ्चमी पर्वको अवसरमा नेपाली महिलाहरु नदी तलाउ तथा पवित्र जलाशयमा स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरेर यो पर्व मनाउँदै छन् । सप्तर्षिको पूजा गरेर पञ्चमी घुमेपछि तीजपर्व सम्पन्न हुने गर्दछ ।

भाद्रशुक्लपक्षको पञ्चमी तिथिमा पर्ने ऋषिपञ्चमी पर्व महिलाहरुको महान पर्व तीजको अन्तिम दिन पनि हो । यस दिन नारीहरु बिहानै जलाशयमा गई कुश, दत्तिवन, पवित्र माटोलगायतका प्राकृतिक वस्तुको प्रयोग गरी स्नान गर्छन् । रजस्वला भएका नारीले विधिपूर्वक स्नान गरी ३६५ दत्तीवनले शरीर शुद्ध गर्ने चलन छ ।

स्नानपछि घर तथा मन्दिर परिसरमा भेला भई नारीहरुले विशेष निष्ठापूर्वक सप्तर्षि अत्रि, कश्यप, गौतम भारद्वाज, जमदग्नि, वशिष्ठ, विश्वामित्रसहित ऋषिपत्नी अरुन्धतीको पूजाआजा गर्दछन् । यसो गर्नाले ऋषिऋणबाट मुक्त हुनुका साथै वर्षदिनभर भूलवश हुन गएका रजदोष र त्यसबाट हुने अशुद्धि हट्ने विश्वास छ ।

ऋषिपञ्चमीको पूजा गर्दा शिवालय चौतारी वा घर आँगनमा मण्डप सजाई कुशले अरुन्धतीसहित सप्तर्षिको आकृति बनाएर पूजाआजा सहित परिक्रमा गरिन्छ । यसरी परिक्रमा गर्दा वा पञ्चमी घुम्दा भक्तिभावपूर्ण भजन गाउने चलन छ ।

पञ्चमी पूजा सकिएपछि चेलीहरु आपसमा शुभकामना र प्रसाद आदानप्रदान गरी अर्को साल भेटेर गाउँला नाचौंला भन्दै हर्षपूर्वक बिदा हुन्छन् ।