देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने सम्भावना

९ बैशाख २०७६, सोमबार १०:२४

काठमाण्डौ – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने उहाँको अनुमान छ ।

यसैबीच दक्षिण एसियामा आउँदो वर्षको मनसुनमा मौसमी अवस्था कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को बैठक काठमाण्डौमा बस्दैछ ।

ललितपुरको कुपण्डोलमा बिहान ९ बजे सुरु हुने बैठकमा नेपालसहित दक्षिण एसियामा मौसम र जलवायुको क्षेत्रमा काम गरिरहेका व्यक्ति सहभागी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार सकिने बैठकले दक्षिण एसियामा यो वर्षको मनसुन कस्तो रहन्छ भन्ने बारेमा पूर्वानुमान गर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।