देउवाले गरेको प्रस्ताव पौडेल समूहद्वारा अस्वीकार, चुनाव हुने पक्का

२० फाल्गुन २०७४, आईतवार ०७:१०

फागुन २०, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गरे रामचन्द्र पौडेल समूहलाई उपनेता दिने प्रस्ताव राखेका छन् ।

तर, पौडेल समूहले देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

संसदीय दलको नेताका लागि आइतबार साँझ उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभापति कोइरालासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने तयारीमा छन् ।


देउवाले आफ्नो नाममा सहमति जुटाउन गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पौडेल कहाँ पठाएका थिए ।

‘उहाँले दलको उपनेता र प्रमुख सचेतक लिनुस् भन्ने प्रस्ताव गर्नु भइसकेको थियो तर, हामीले ढिलो भयो भन्यौं’ एक नेताले भने ।

पौडेल समूहले महामन्त्री शशांक कोइरालालाई दलको नेतामा समर्थन गर्न प्रस्ताव गरेको छ । चुनाव हुने अवस्थामा प्रकाशमान सिंहले उम्मेदवारी दिने यो समूहको निर्णय छ ।

देउवा समूहका नेता बालकृष्ण खाँडले पनि सहमतिका लागि आग्रह गरेको स्वीकार गरे ।

‘झण्डै दुई तिहाई सांसद सभापतिको पक्षमा छन् । अर्को उम्मेदवार हुने भनेको उम्मेदवार हुनका लागि मात्र हो । त्यसैले सहमति गरौं भन्ने प्रस्ताव हो’ उनले भने ।

तर, पौडेल समूहले आफूले भनेकै व्यक्तिको नाममा सहमति हुनु पर्ने भनेपछि नमिलेको उनले बताए ।

उनका अनुसार सभापति देउवाले दलको नेतामा उम्मेदवारी दिने छन् ।