दुईतिहाइ बहुमतको सरकार अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूर्णः महामन्त्री कोइराला

२८ फाल्गुन २०७५, मंगलवार १२:१५

प्युठान , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले आमकार्यकर्तालाई न्याय गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस यूनियन प्युठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको आरोप लगाउनु भएको हो । पार्टीको नेतृत्वका लागि कुन थर कुन जातभन्दा पनि पार्टी भित्र वीपी कोइरालाको विचार बोक्न सक्ने नेतालाई कार्यकर्ताले साथ दिनुपर्नेमा उहाँले जोड दिनु भयो । महामन्त्री कोइरालाले ‘‘कांग्रेसमा वीपीको विचार अगाडि बढाउन सक्ने सवै नेता–कार्यकर्ताले कांग्रेसलाई नेतृत्व दिन सक्ने बताउनु भयो ।१४ औं महाधिवेशनमा उम्मेदवारीका बारेमा सोधिएको प्रश्नमा उहाँले नेता–कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी तय गर्ने बताउदै सभापतिको उम्मेदवार बन्ने संकेत गर्नु भयो । महामन्त्री कोइरालाले सरकारले पृथकतावादी नेता सिके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताउनु भयो । सरकारले आमजनतालाई चित्त बुझ्ने स्पष्टिकरण दिन नसकेको कोइरालाको दावी छ । महामन्त्री कोइरालाले वर्तमान सरकार अकर्मण्य बनेको बताउनु भयो । दुईतिहाइ बहुमतको सरकारले अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ थियो ।