दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

२० कार्तिक २०७६, बुधबार १३:१३

काठमाण्डौ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नु भएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताउनु भएको छ ।
यसैगरी काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पनि बुधबार एक विज्ञप्ति जारी गरी ‘भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्’ भनेको छ ।