दसैंमा बसको टिकट पाउनै मुस्किल

९ आश्विन २०७६, बिहीबार १०:५१

काठमाडौं, नेपालीको मुख्य चाड दसैं तथा तिहारमा बसको टिकट पाउनै मुस्किल हुने गरेको छ । काठमाडौं उपत्यकाबाट दसैंतिहार मनाउन देशका विभिन्न ठाउँमा जाने सर्वसाधारणले अहिले पनि सहज रूपमा टिकट पाएका छैनन् । बढी मूल्य असुल्नका लागि टिकटको हाहाकार मच्चाउने गरेको यात्रुको आरोप छ ।

उपत्यकाबाट एकैपटक ठूलो संख्यामा यात्रु बाहिरिने मौकालाई व्यवसायीले बढी रकम असुल्ने मौकाका रूपमा उपयोग गर्ने गरेका कारण यात्रुले सहज रूपमा टिकट पाउन नसकेको रौतहटका विश्वराज यादव गुनासो गर्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने टिकट अभाव हुन नदिने दाबी गर्छन् । उनले टिकटको अवस्था हेरेर बस थपिने बताए ।

चाडपर्वमा टिकट ब्ल्याकमा बेचिने तथा बढी भाडा लिने गरेको समेत गुनासो आउने गरे पनि अनुगमन नहुँदा यात्री ठगिने गरेका छन् ।

व्यवसायी तथा ट्राफिक प्रहरीले बढी भाडा लिए तथा ब्ल्याकमा टिकट बिक्री गरे ट्राफिक प्रहरीमा खबर गर्न आग्रह गरेको छ । विभागले आफू जाने ठाउँको भाडादरबारे पूर्वजानकारी राखेर टिकट काट्न जान अनुरोध गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँगको बैठकले ५ भदौबाट टिकट खुलाउने सहमति गरेको थियो ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, सुन्धारा, नागढुंगा, लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ ।

गत वर्ष १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । अहिले सोही संख्यामा उपत्यकाबाट बाहिरिने व्यवसायीको अनुमान छ । दसैंको समयमा एकैचोटि धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले पहिले नै टिकट काट्ने गरिन्छ ।

लामो दूरीका बसका लागि टिकट बुकिङ खुला भए पनि देशैभरको सडकको अवस्था भने दर्दनाक छ । काठमाडौं उपत्यकासहित राजमार्गभरि खाल्टाखुल्टी देखिएका छन् । यातायात व्यवसायीले सडकको मर्मतसम्भार गर्न माग गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।