दशैं मनाएर फर्किनेलाई सवारीसाधन पाउनै मुस्किल

७ कार्तिक २०७५, बुधबार १२:१३

यात्रुको अत्यधिक चाप कारण दशैं मनाएर कर्मथलोमा फर्किनेहरुलाई सवारीसाधन पाउन नै मुस्किल भएको छ।

मान्यजनबाट टीका ग्रहण गरेर फर्किनेहरुको संख्या बढी भएकाले सवारी साधनमा सिट पाउन कठिन भएको हो। ग्रामीण क्षेत्रदेखि म्याग्दीको बेनी, बाग्लुङको बागलुङ बजार र पर्वतको कुश्मामा झरेका यात्रुहरु पोखरा, काठमाडौं, भैरहवा, नारायणघाटलगायतका ठाउँमा जाने यात्रु रहेका छन्। ठूला बसहरुमा यात्रुहरु खचाखच भरिएका कारण बसमा ठाउँ नपाएकाहरु चर्को मूल्य तिरेर ट्याक्सी रिजर्भ गरेर गन्तव्यमा जान बाध्य भएका छन्।पर्वतको फलेवास नगरपालिकाका कृष्ण शर्मा भने शिवालयचोकमा सिट पाइन्छ कि भनेर दुई घण्टासम्म कुरेर बसेँ। तर, म्याग्दी र बाग्लुङबाटै भरिएर आएका छन्। गाडीमा सिट नपाएपछि । समयमै कार्यालय पुग्नुपर्ने बध्यता भएकाले जसरी पनि जान लागेको उनको भनाइ छ। गन्तव्यमा पुग्नका लागि पर्वतका विभिन्न विकट र ग्रामीण क्षेत्रबाट सदरमुकाम झरेका कतिपय नागरिकहरु बसमा खुट्टा हाल्ने ठाउँसमेत नपाएकै कारण लजमा बास बस्न बाध्य भएका छन्।

यात्रुको चाप एकैपटक बढेकाले सीमित संख्याका सवारीसाधनले यात्रुहरुलाई धान्ने अवस्था नभएको यातायात व्यवसायीहरु बताउँछन्।‘दशैंपछि फर्किनको लागि दशैंअघि नै टिकट बुक भैसकेका थिए,’ पर्वतका यातायात व्यवसायी खेमराज लामिछाने भने, ‘अहिले टिकट बुक नगरी सिधै यात्राको लागि आउनेहरुलाई समस्या भएको छ।’ काठमाडौं, चितवन, बुटवल, भैरहवालगायतका गन्तव्यमा पुग्ने सवारीसाधनमा यात्रुहरुको चाप केही कम भए पनि पोखरा, दमौली, दुलेगौँडालगायतका नजिकका ठाउँमा जाने यात्रीहरुलाई सबैभन्दा बढी कठिन भएको छ। सवारीसाधन अभावका कारण तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, जोखिम मोलेर यात्रा गर्नुपर्ने र समयमा गन्तव्यमा पुग्न नसकेको यात्रुहरुको गुनासो छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले यात्रुहरुको चाप बढेको र यो बेलामा विशेषतः मनपरी भाडा उठाउने समस्या बढी आउने भएकाले आफुहरुले अनुगमन गरिरहेको दावी गरे।