दशैंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले खटायो कर्मचारी

२९ आश्विन २०७५, सोमबार १६:४३

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ ।

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए ।पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै  उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए ।
‘निगमले पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको छ ।उपत्यकाबाट बाहिरिने सबै सवारी साधन एकैपटक पम्पमा जाँदा केही लाइन देखिएको हुनसक्छ । तर इन्धनको अभाव हुँदैन ।निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताए । मङ्गलबार सम्म थानकोटस्थित डिपो नियमितरुपमा खुल्ने बताइएको छ ।