दलित भन्दै हत्या गर्नेलाई कारवाही गर्न दलित विद्यार्थी संघको माग

१३ जेष्ठ २०७७, मंगलवार १०:०६


काठमाडौं , दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर नेपाली कांग्रेसको नेपाल दलित विद्यार्थी संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष राजु सुनारद्धारा जारी प्रेस विज्ञप्तीमा घटनामा संलग्नलाई प्रचलित ऐन अनुसार कारवाही गर्न समेत माग गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतोमा शनिबार राती गैरदलित भनिनेले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको हत्या गरेको घटना अत्यन्तै दुःखदायी र निन्दनीय भएको संघको ठहर छ । सोतोकी सुष्मा मल्लसँग प्रेम गरेका विक मल्लकोमा जाँदा स्थानीयले आक्रमण गरेर हत्या गरेका थिए । २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको संघ अध्यक्ष सुनारले बताए । घटनामा संलग्नलाई नेपालको मुलकी अपराध संहिता २०७४ र छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन , २०६८ अनुसार हदैसम्म कारवाही गर्नुपर्ने संघले प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ । संघले पीडितलाई क्षतिपूर्ति सहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।
यसैगरी संघले आफ्नो लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी केही व्यक्तिले सन्देश फैलाइरहेकोमा समेत आपत्ति जनाएको छ । यसले यस्ता कार्य तत्काल बन्द गर्न सचेत गराएको छ । अझैपनि यस्तो दुरुपयोग नरोकिए कानुनी कारवाही गर्न वाध्य हुने समेत चेतावनी दिएको छ ।