थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

१९ माघ २०७७, सोमबार १७:०७

 

काठमाडौं । विना कारबाही सजाय र थुनामुक्त गराइदिने भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीर बहादुर तामाङ र सूर्यविनायक नगरपालिका–६ बस्ने रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा छन्।

गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिरनजिकबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरुलाई विना कारबाही सजाय र थुनामुक्त गरादिने विश्‍वास दिलाई ग्याल्छेन र वीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको सूचनापछि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले वीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो।