तोकिएको समयभित्र काम नसक्ने ठेकेदार पक्राउ

६ जेष्ठ २०७५, आईतवार ११:५८

जेठ ६, काठमाडौं ।

अर्घाखाँचीमा तोकिएको समय सीमाभित्र काम नसक्ने एक जना ठेकेदार पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सरजमिन ढोरपाटन सडकखण्ड अन्तरगत कञ्चन खोलादेखि ढुंगेखोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् ।

उनले २४ पुस ०७१ सम्ममा सडक निर्माण सक्ने गरी ०७० सालमा १७ किलोमिटर सडक निर्माणको ठेक्का पाएका थिए । तर, अहिलेसम्म उनले दुई किलोमिटर मात्रै सडक निर्माण गरेको बताइएको छ ।

‘स्थानीय जनप्रतिनिधिले समयमै काम सक्न पटकपटक निर्देशन दिँदासमेत उल्टै गाली गलौज गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो’, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले भने, ‘सार्वजनिक अपराध एेन अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ ।’

यसअघि गृहमन्त्री रामबहादुर थापाले समय सीमाभित्र काम नसक्ने ठेकेदारलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका थिए ।