तीन राप्रपा मिल्नुको विकल्प छैनः बोहरा

२० आश्विन २०७५, शनिबार ११:२२

आयोखवर डटकम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का अध्यक्ष पशुपति शमशेर राणाले बर्तमान सरकारले जनतालाई चाडवाडका समयमा महंगी थोपरेर जनतालाई सास्ती दिने काम गरेको बताउनु भएको छ ।

 

शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राणाले दुइ तिहाइका नाममा कम्युनिष्ट शासनले मुलुकमा दम्भको राजनीति गरेको आरोप लगाउनु भयो । उहाँले अब लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरु एक जुट भएर जानुपर्ने बताउनु भयो ।

‘बर्तमान सरकारले जनताको पक्षमा काम नगरी उनीहरुमा तानाशाही शासन लादेको छ, त्यसका विरुद्ध अब राष्ट्रवादी शक्तिहरु एक हुनुपर्छ । राणाले भन्नु भयो ।

उहाँले ओली सरकारले दुई तिहाइ मत लिएर देशमा विकास र सुशासन कायम गर्न भन्दा पनि विगार्न उद्यत रहेको दावि गर्नु भयो । ओली सरकारले देशमा भ्रष्टाचारी, बलाल्कारीलाई संरक्षण समेत गरेको आरोप लगाउँदै स्थानीय तहमा पनि करको दायर बढाएर नेपाली जनताको ढाढ भाँच्ने काम गरेको राणाले आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष दीपक बोहराले तीन राप्रपा एक ठाउँमा आउनुपर्ने बताउनु भयो । पूर्वमन्त्री समेत रहनु भएका बोहराले बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि तीन राप्रपा मिल्नुको विकल्प नभएको बताउनु भयो । उहाँले बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर देशलाई सनातन हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्ने कुरामा जाड दिनु भयो । ‘हिन्दु राष्ट्र स्थापनार्थ अब राष्ट्रवादी शक्तिहरुको एकताको विकल्प छैन, त्यसका लागि म सबै राष्ट्रवादी शक्तिहरुलाई एक ठाउँमा उभिन आग्रह गर्दछु । उहाँले भावुक हुदै भन्नु भयो । देशमा महंगीले जनता बाँच्न नसक्ने अवस्थामा रहेको भन्दै बरिष्ठ नेता बोहराले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन आग्रह समेत गर्नु भयो ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीले सबै वर्ग क्षेत्र र समुदायलार्इ एक ढिक्कामा लिएर अगाडी बढ्ने र हिन्दु राष्ट्रका पक्षमा जनलहर स्थापनार्थ अघि बढ्ने भन्दै त्यसका लागि संगठित हुन आग्रह गर्नु भयो ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्ने सयौं कार्यकतालाई पार्टी अध्यक्ष, बरिष्ठ उपाध्यक्ष लगायतले स्वागत गर्नु भएको थियो । । कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।