तीन राप्रपाका बीच पार्टी एकताको संकेत

१८ कार्तिक २०७५, आईतवार १३:१९

विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो ।
यी तीन पार्टी एकीकरण भएको एक वर्ष नबित्दै गत निर्वाचनका बेला फुटेर तीन टुक्रा भएका थिए ।

पछिल्लो समय थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताका लागि वार्ता समिति गठन गरे पनि राप्रपाले केन्द्रीय कार्यसमिति भङ्ग गरेसँगै राप्रपाको वार्ता समिति पनि भङ्ग भएको थियो । उता प्रजातान्त्रिकतर्फको वार्ता समिति पनि निष्क्रिय जस्तै भएको थियो ।

दुवै पार्टीका वार्ता समितिले एकीकरणका लागि गृहकार्य गरिरहेकै बेला राप्रपाको केन्द्रीय समिति र वार्ता समिति भङ्ग भएपछि पार्टी एकताका लागि अध्यक्ष कमल थापा, प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राष्ट्रवादीका डा। प्रकाशचन्द्र लोहनीबीच पटक पटक छलफल भएको नेताहरूले बताएका छन् । ‘ती छलफलमा अर्को महाधिवेशनसम्म दुई वा तीन अध्यक्ष राख्ने भन्नेमा छलफल भए पनि सहमति भने भइसकेको छैन ।

‘तीनवटै राप्रपाले संवैधानिक राजसंस्थालाई आफ्नो मूल सिद्धान्तका रूपमा स्वीकार गरेको थियो ।

निर्वाचनको मुखमा फुटेर तीन टुक्रा भएका यी पार्टीहरूमध्ये कमल थापाको पार्टीले देशभरबाट जम्मा एक सिट मात्र जितेको थियो भने राणा र लोहनीको पार्टीले एक सिट पनि जित्न सकेनन् । ‘पार्टी फुटको पीडा र असर निर्वाचनमा देखिइसकेको छ । अब वैकल्पिक शक्तिका रूपमा तीनवटै पार्टी एक भएर अघि बढ्नुको विकल्प छैन ।राप्रपा नेताले बताए ।

तीनवटै राप्रपाको नीति र सिद्धान्त मिल्दोजुल्दो छ । कमल थापा नेतृत्वको राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राज्यलाई आफ्नो मूल सिद्धान्त बनाएको छ भने लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको सिद्धान्त पनि त्यही छ ।

उता राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले संवैधानिक राजतन्त्र नभने पनि परम्परागत शक्ति भनेर राजसंस्था आवाश्यक छ भनेर सङ्केत गर्दै आएको छ । ‘सबैको विचार मिल्दोजुल्दो भएकाले पार्टी एकीकरण गर्दा सैद्धान्तिक रूपमा राजासहितको प्रजातन्त्रमै सहमति हुनसक्छ, किनकि काङ्ग्रेस या अरू कुनै शक्तिसँग मिल्नुभन्दा पनि राजासहितको लोकतन्त्रको पक्षमा सहमति भए वैकल्पिक तेस्रो शक्तिका रूपमा एकीकृत राप्रपालाई लैजान सकिन्छ भन्नेमा खासै मतभेद छैन,’ एकीकृत राष्ट्रवादीका नेता लोहनीले बताए ।