तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप

१४ माघ २०७७, बुधबार १४:२७

 

 

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।

नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए । कोरोनाविरुद्धको खोप मानव जातिको साझा उपलब्धी, साझा सफलता र सबैको पहुँचभित्र हुनुपर्ने उनले बताए ।