प्रमुख वामशक्ति एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच एकता प्रक्रिया सुरु

१७ आश्विन २०७४, मंगलवार १३:२५

असोज १७, काठमाडौं । मुलुकका प्रमुख वामशक्ति नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच पार्टी एकीकरण गर्ने उद्देश्यअनुसार ६ बुँदे सहमति गर्दै चुनावी तालमेलको घोषणा गरेका छन् ।

पार्टी एकताका लागि तीन दलका ८ जना संयोजन समिति रहने पहिलो बुँदामै उल्लेख गरिएको छ । समितिमा एमालेका ४, माओवादीका ३ र नयाँ शक्तिका एक जना रहनेछन् । त्यसैगरी दुवै पार्टीका अध्यक्ष समितिको प्रमुख रहनेगरी सहमति गरेका छन् ।

 

मंगलबार बेलुका काठमाडौंमा भएको घोषणासभामा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका प्रमुख नेताहरुले पार्टी एकता प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । ६ बुँदे सहमतिको पहिलो बुँदामा भनिएको छ– “नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा एमालेका तर्फबाट ४ जना, नेकपा माओवादी केन्द्रका तर्फबाट ३ जना र नयाँ शक्ति पार्टीका तर्फबाट १ जना नेताहरु रहनेछन् । नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको रुपमा रहने । नेकपा एमालेका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिकामा रहने ।”

 

पार्टी एकताको विस्तृत खाका र आपसी छलफलद्वारा सहमति कायम गरिने भएको छ । “एकीकृत पार्टीको नीति–कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधिहरु सम्मिलित दस्ताबेज मस्यौदा समिति गठन गर्ने । प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात विधिवत पार्टी एकतासम्पन्न गर्ने,” सहमतिपत्रमा भनिएको छ । त्यसैगरी पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्ना विचार व्यक्त गर्न र स्वस्थ वहस गर्न सकिने तर पार्टी एकीकरणको आधार सुदृढ बनाउन एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति पनि भएको छ ।

 

पार्टी एकीकरणको उद्देश्यअनुरुप अघि बढ्न आ–आफ्ना पार्टी पंक्तिलाई आह्वान गर्ने र छरिएर रहेका सबै कम्युनिष्ट तथा वामपन्थी पार्टी तथा समूहहरुलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने सहमति पनि त । आगामी मंसिरमा हुने निर्वाचनमा नयाँशक्ति पार्टी नेपाल र अन्य समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमालेका ६० प्रतिशत र नेकपा माओवादी केन्द्रका ४० प्रतिशत उमेदवार हुने गरी आपसी तालमेल गर्नेबारेमा पनि सहमति भएको छ ।

अन्य दललाई आवश्यकता र सहमतिअनुसार छुट्याइएको सिटबाट बाँकी रहेका सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत उमेदवार चयन गर्नेछन् । त्यसैगरी आगामी निर्वाचनका लागि तीनै पार्टीका प्रतिनिधिहरु सहभागी रहने निर्वाचन घोषणापत्र मस्यौदा समिति पनि गठन हुने भएको छ । सहमतिको अन्तिम बुँदामा भनिएको छ– आगामी प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरुलाई आह्वान गर्ने ।’