तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ–हार नमानिदेउ

२२ कार्तिक २०७७, शनिबार ११:३७

मीना ढकाल,

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ।

मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका बिसौँ वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरोबीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आइसियूमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन्। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन्। छुट्टै भए पनि टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्। म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौँ । मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन्। तिमी र मबीच जस्तासुकै व्यवहारिक बेमेल भए पनि तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ–हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ

उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी

(यो सामग्री मीना ढकालको फेसबुक पेजबाट साभार गरिएको हो।)