ताइवानमा नेपालका ३ मेयर स्मार्ट सिटी सिक्न, विश्वका पचास बढी देशका १ सय ५० बढी मेयरहरु सहभागि

१६ चैत्र २०७४, शुक्रबार ०८:०९

चैत १६, काठमाडौं ।

ताइवानको ताइपेइ शहरले आयोजना गरेको स्मार्ट सिटीसम्बन्धी सम्मेलनमा नेपालका तीन जना मेयरहरु सहभागी भएका छन् ।

विश्वका पचास बढी देशका १ सय ५० बढी मेयरहरुलाई सहभागि गराएर ताइपेइ शहरले चैत १२ देखि १५ सम्म स्मार्ट सिटी सम्मेलन आयोजना गरेको थियो ।सम्मेलनमा नेपालबाट पोखरा लेखनाथ महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयरहरु सहभागी भएका हुन् । उनीहरुले सम्मेलनबाट स्मार्ट सिटीका रुपमा नेपालका शहरलाई विकास गर्ने आधार फराकिलो भएको बताएका छन् ।

पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले ताइवानको विकासबाट आफूले धेरै कुरा सिकेको बताउँदै यहाँको विकासको कुरालाई जस्ताका तस्तै भन्दापनि आफ्नो ठाउँ अनुकुल हुने गरी प्रयोग गर्ने बताए । उनले प्रविधिको विकाससँगै स्मार्ट सिटीको अवधारणा जोडिएकाले प्रविधिमा जोड दिनुपर्ने कुरा स्विकार गरे ।

पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले यसपटक वजेटमा ५० लाख समेत छुट्याइसकेर काम सुरु गरिसकेको बताउँछन् नगरप्रमुख जिसी । उनले स्मार्ट सिटीका लागि यो रकम छुट्याए पनि अन्य प्राविधिक कामका लागि भने एक करोड बढी रकम छुट्याएको जानकारी पनि दिए ।

उता तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सम्मेलन र स्थलगत अध्ययनबाट स्मार्ट सिटीका रुपमा तुलसीपुरलाई कसरी विकास गर्ने भन्ने अवधारणा बनेको बताए । उनले पुराना संरचनाहरु प्रविधि मैत्री नभएकाले तत्काल त्यसलाई बनाउन गाह्रो हुने बताउँदै नयाँ निर्माण हुने संरचनाहरु स्मार्ट सिटीकै अवधारणामा हुने पनि बताए । ‘हामीले बसपार्क निर्माण गर्दैछौं, अब त्यसलाई स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढाउने हो,’ पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीका आधार निर्माणका लागि यसपटक बजेटमा १ करोड बढी बजेट छुट्याएको छ । अहिले व्यक्तिगत घटना दर्ता, तत्काल समस्या राख्ने टोल फ्रि नम्वर लगायतका कुरालाई तुलसीपुरले यसै वर्षबाट सुरुवात गरिसकेको छ ।

यसका साथै अनलाइन माध्यमबाट कर तिर्ने र निश्चित विषयमा स्मार्ट कार्डको प्रयोग गर्ने कुरालाई उपमहानगरपालिकाले जोड दिने प्रमुख पाण्डेले वबताए । न्यू आईटी भेन्चर लगायतका विभिन्न संस्थाहरुसँग स्मार्ट सिटीका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने सहमति भएकाले पनि तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सकिने उनले बताए ।

उदाउँदो शहरको रुपमा रहेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर अडले धनगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि पूर्वाधार तयारीको काम भइरहेको बताए । ‘ताइवानको विकासले हामीलाई कसरी विकास गर्ने भन्ने कुरा सिकाएको छ,’ नगरप्रमुख अडले भने ।

ताइवानमा निर्माण भएका स्मार्ट लाइव्रेरी, स्मार्ट कर प्रणाली, स्मार्ट रेल सेवा र बस सेवा, स्मार्ट शिक्षा लगायत विभिन्न क्षेत्रका बारेमा उनीहरुलाई अवलोकन गराइएको थियो ।