तलब नपाएपछि स्कुल बन्द, गाउँपालिकामा तालाबन्दी

१३ फाल्गुन २०७४, आईतवार ११:५६

फागुन १३, काठमाडौं ।

शिक्षकको तलब नदिएको लगायतका विषयलाई लिएर पर्साको विन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । तलब नपाएको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार स्थानीय वासिन्दा, शिक्षक र अन्य सरोकारवालाले कार्यालय अगाडि धर्ना र प्रर्दशन गर्नुको साथै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुविरुद्ध नाराबाजीसमेत गरेका छन् ।


गाउँपालिकाले ४ महिनाको तलब नदिएकाले विरोधमा उत्रिएको स्थानीय शिक्षक गोपाल साहले बताए । ‘चाडपर्व नजिक आइसक्यो तर हामीले तलब पाउन सकेका छैनौं,’ उनले भने ‘दशैं अगाडि खानुपर्ने तलब बल्ल आएर कात्तिकमा खुवाए । अहिले पनि माघमा तलब आउनुपर्ने आएकै छैन ।’ छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पनि नपाएको शिक्षक गोपाल साहले बताए ।

शिक्षकहरुले तलब नपाएको विरोधमा बिद्यालय बन्दको समेत घोषणा गरेका छन् ।

गाउँपालिकामा २ वटा माध्यमिक, २ वटा निम्न माध्यमिक र अन्य प्रावि गरी १४ वटा विद्यालयमा स्थायी, अस्थायी, राहत र बाल विकास केन्द्रका गरी १ सय १० जना शिक्षक कार्यरत छन् ।

त्यस्तै केन्द्र सार्न लागेको,स्वास्थ्य स्वयंसेविका र चौकीदारलाई सेवा सुविधा नदिएको विरोधमा पनि प्रदर्शन गरिएको छ । गाउँपालिका परिषदमा सेवा केन्द्र सार्ने निर्णय नभए पनि अहिले जबर्जस्ती सार्न लागेकाले विरोध गरिएको वडा नं. १ का अध्यक्ष सागिर मियाँले बताए ।

‘गाउँ परिषदमा सेवा केन्द्र सार्ने निर्णय भएकै छैन । तर घर घरमा गएर हस्ताक्षर गरेर गाउँपालिकाको केन्द्र वडा नं ३ अमरपट्टीको इटियाही सार्ने षडयन्त्र भएको जानकारी हामीले पायौं’ उनले भने ‘हुलाकी राजमार्गसँग जोडिएको, अस्पताल लगायतका अन्य सुविधा भएको बहुअर्वा भाठा नै उपयुक्त छ भन्ने हाम्रो भनाइ हो ।’

गत माघ २९ गते नै गाउँ परिषद सम्पन्न भएको विन्दवासीनी गाउँपालिकामा फेरि गाउँ अधिवेशन बोलाएर विशेष प्रस्ताव लगी केन्द्र सार्ने निर्णय गर्ने तयारी भएको गाउँपालिका स्रोतले जनाएको छ । स्थानीयका अनुसार इटियाही गाउँपालिकाको बीच भागमा पर्छ ।

समस्या समाधानका लागि गाउँ प्रमुख श्रीलाल साह कानु, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र विरोध गर्ने पक्षबीचसमस्या समाधानका लागि वार्ता भएको छ ।