तलब नदिए भवनमा तालाबन्दी गर्ने महासंघको चेतावनी

१९ बैशाख २०७५, बुधबार ०७:४४

वैशाख १९, काठमाडौं ।

नेपाल पत्रकार महासंघले नेपाल एफएमको भवनमा कालो ब्यानर टाँगेको छ ।

सो एफएमका पत्रकारले ५ महिनादेखि तलब नपाएको भन्दै महासंघले विरोधस्वरुप कालो ब्यानर टाँगेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको टोलीले एफएमको भवनमा ब्यानर टाँगेको छ ।

ब्यानर टाँगेपछि कोणसभा गर्दै महासचिव विष्टले श्रमजीवीका माग पूरा नभए मिडिया हाउसमा तालाबन्दी गर्न महासंघ बाध्य हुने चेतावनी दिए ।

महासंघका तर्फबाट ब्यानर टाँग्ने टोलीमा रामप्रसाद दाहाल, जन्मदेव जैसी, यम विरही लगायतको सहभागिता थियो ।