डोमेस्टीक टुरिजम मार्ट तयारी अन्तिम चरणमा

११ बैशाख २०७६, बुधबार १८:०८

काठमाण्डौ, गन्तव्य नेपाल अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते अप्रिल २६ र २७का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट डीटीएम तयारी अन्तिम चरणमा पुगेको छ ।

आज नेपाल पर्यटन बोर्डमा कार्यक्रमको अन्तिम तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डिटिएम पर्यटन क्षेत्रमा राष्ट्रिय मेलाको रुपमा रहेको बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेको भन्दै सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरे ।

निजी क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको यस कार्यक्रमको सफलतासँग सिंगो पर्यटनको सफलता जोडिएको भन्दै उनले भने –‘यो गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले गरेको कार्यक्रम हो, तर अब यो गन्तव्य नेपालको मात्रै भएन, यो असफल भयो भने सिंगो पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन्छ, त्यसैले सबैले आआफ्नो ठाँउबाट यसको सफलताको लागि भुमिका खेलौ ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने बिश्वास व्यक्त गर्दै यसलाई बार्षिक क्यालेन्डरका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टाका पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष तथा डिटिएम सद्भावना दुत कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष तथा डिटीएम सद्भावना दुत गोपालबाबु श्रेष्ठ लगायतले डिटीएमको आवश्यक्ता औल्याउँदै यसलाई नमुना पर्यटकीय गतिबिधीका रुपमा अगाडि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

डिटीएमका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उदेश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउने हिसाबले डिटिएम आयोजना गरिएकाले आम नागरिकलाई सहभागिताका लागि अपिल गरे । यो सबैको साझा पर्यटनको रुपमा बुझिदिन पनि उनले आह्वान गरे ।

डिटिएमका संयोजक माधबप्रकाश सुबेदीले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।