डा रवीन्द्र पाण्डेको सरकारलाई भावुक खुलापत्र

५ बैशाख २०७७, शुक्रबार १३:५०


रवीन्द्र पाण्डे

प्रिय सरकार, सरकार जनताको अभिभावक हो । आफ्नो अभिभावकसँग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तव्य हो । यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो । गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसँग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो ।

१। मेरो सरकार १ सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो । प्याजमा भएका पत्र अर्थात लेयरले हाम्रो सरकारलाई घेरे कि ? संसारका अरु देशमा सागजस्ता सरकार छन् । कुनै पत्रले नघेरिएका, पानीको थोपा पनि ग्रहण गर्ने, असिनाका दाना पनि सहने अनि आफु चिमोटिएर जनताको हातमुख जोड्न पनि सहयोग गर्ने । के प्याज सरकार हाम्रो नियति हो ?

२। टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल हेर्दा आँखाबाट आँशुका थोपा यसै भत्किन्छन् । मुटु चिसो भएर आउँछ, मनमा तुफान चल्छ । ती सयौं भोका मान्छेको लस्कर, रोगी मान्छेको लस्कर, सुत्केरी र शिशुहरुको रोदन । उनीहरु हाइकिंगको लागि हिंडेका हैनन्, कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन् । उनीहरु सरकारको बिरोध गर्न बिद्रोहमा उत्रेका आतंककारी हैनन् । मेरो सरकार ! तिनीहरु पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्, सिटामोलको गोली किन्ने खुबी नभएका पानीमरुवा हुन् ।

उनीहरुले सरकारको बिरोधमा नारा लगाएका छैनन् । नपत्याए प्याजका पत्रहरू खोलेर सुन, उनीहरु मनमनै भन्दैछन्, कि खान देऊ, कि घर जान देऊ । तिनीहरुलाई आफ्ना हातसँग झोंक चलेको छ, त्यो स्वस्तिक चिन्ह मतपत्रमा ठोक्ने हातलाई सिलौटामा राखेर लोराले कचकच थिच्ने मन लागेको छ ।

मेरो सरकार १ सहरमा भोकै मर्ने भयौं, गाउँमा खनखोरस गरेर बाँच्छौं भन्ने ती देशद्रोहीलाई सहर निकाला गर । एउटा कोठा लिएर पढ्न बसेका बिद्यार्थीलाई सहरबाट लेखेट । त्यस्ता सर्वहारालाई यो मिठो धुन बज्ने तथा सप्तरंगी फूल फुल्ने सहरबाट गाडीमा हालेर सहर निकाला गर ।

३। मेरो सरकार ! सिमानाबाट भित्र आउनुपर्ने बाहिर छन्, बाहिर हुनुपर्ने भित्र आइरहेका छन् । सयौं किलोमिटर तातो अलकत्रे बाटोलाई खुट्टाले नाप्दै नाप्दै सिमानापारी पाल टाँगेर बसेका ती भोकानांगाहरु सरकारलाई स्वस्तिक छाप हानेका देशद्रोही हुन् । रोग, भोक र शोकले ती यति आक्रान्त छन् कि आफ्नै माटोमा आश र सास बिसाउने अन्तिम इच्छा छ, उनीहरुको । उनीहरुलाई सीमा निकाला गरेर गाउँमा पठाउन पाए सरकारको मिठो निद्रा कसैले बिथोल्ने थिएन कि ?

४। प्रिय सरकार ! खाडीको धुपमा पसिनाको धारा चुहाएर रेमिट्यान्सले सरकार पालेका ती भुस्तिघ्रेहरु जागिर गएर मर्नु न बाँच्नु भएका छन् । उनीहरु भन्दैछन, हामीलाई देश फर्काऊ सरकार हामीले बाँझो जमिनमा सुन फलाएर सरकारलाई पाल्नेछौं । पाल्ने कुरो गर्दैछन् त कि तुरुन्त चार्टर गरेर ल्याउने हो ? १ महिना क्वारेन्टाइनमा बस्न पनि तयार छन् उनीहरु । यो त फाइदाको कुरा गरे त ।

५। मेरो सरकार कोरिया, जापान, इजरायल, युरोप, अमेरिकादेखि सयौं देशमा रहे पनि छातीमा नेपाल बोकेका लाखौँ जनताहरुलाई नेपाल ल्याउने यहि मौका हो । उनीहरु ज्ञान, सिप र अनुभवले उम्दा छन् । उस्तै परे उनीहरुले नेपालको विकासमा नयाँ मोडेल ल्याउनेछन् । देशको अर्थतन्त्रलाई माथि उठाउनेछन् । सरकार धनी हुनेछ, कि महादेवको तेस्रो आँखा खोल्ने हो ? यसो गर्दा प्याजका पत्रलाई पनि फाइदा, प्याजका दर्जनौं पत्रभित्र विराजमान सरकारलाई पनि फाइदा ।

६। मलाइ डर छ सरकार दैनिक ज्यालादारीलाई खै राहत ? न्यून आय भएका व्यक्तिलाई खै हातमुख जोड्ने प्रबन्ध ? भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? अप्रिय नारा लागे भने ? खानपिन प्रेमिको भण्डार कब्जा भयो भने ? अर्को शक्ति उदाएर यो अकन्टक सत्तालाई ग्रिलभित्र राख्यो भने ? विदेशीका बुट यो कोमल छातीमाथि बज्रिए भने ? जनताले ’ जसको भारी बोके पनि बोक्ने न हो ‘ जस्तो प्रतिक्रियाबादी जवाफ दिए भने ? त्यो भान्सा, त्यो खानपिन, सोंच्दै मुटु ढुकढुक हुन्छ, मेरो सरकार । लौन अझै समय घर्केको छैन ्र

लेखक डा पाण्डे वरिष्ठ फिजिसियन, प्रजनन् तथा बाल स्वास्थ्य विशेषज्ञ हुन् ।