डा. बाबुराम भट्टराईलाई ट्युमर भएको आशंका

९ फाल्गुन २०७७, आईतवार ११:४६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए ।