डा. गोविन्द केसी पक्षका वार्ता टोली र सरकार सहमतिनजिक

१० श्रावण २०७५, बिहीबार १८:५५

साउन १०, काठमाडौं ।

सरकार र डा. गोविन्द केसी पक्षका वार्ता टोली सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ता सहमतिनजिक पुगेको वार्तामा सहभागी डा. केसी पक्षका सदस्य अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।

‘धेरै कुराहरू राम्रा भएका छन्, यसको अर्थ वार्ता सकिएको भन्ने होइन, अब केही टेक्निकल कुराहरू बाँकी छन्,’ उनले भने, ‘अब वार्तामा भएको कुराकानी र सहमतिबारे डा. केसीलाई जानकारी गराउँछौं ।’

वार्ताको उपलब्धिबारे डा. केसीलाई जानकारी गराउने र उनले हुन्छ भनेमा वार्ता सफल हुने भण्डारीले बताए ।

‘एउटा कुरा मात्र मान्नुभएन भने पनि उहाँलाई जबरजस्ती गर्न सक्दैनौं,’ वार्तामा संलग्न भण्डारीले भने, ‘हामी उहाँका प्रतिनिधि मात्र हौं, उहाँले ठीक छ भन्नुभयो भने कुरा मिल्छ ।’ डा. केसी २७ दिनदेखि अनशनमा छन् ।