ट्रिपर दुर्घटनामा म्यादी प्रहरीसहित ३ जनाको मृत्यु

२३ मंसिर २०७४, शनिबार ०२:२७

मंसिर २३, काठमाडौं । मकवानपुरको थाहानगरमा निर्वाचन कार्यक्रममा खटिएका म्यादी प्रहरीहरु चढेको ट्रिपर दुर्घटना भएको छ । थाहानगरबाट हेटौडातर्फ आउँदै गर्दा शुक्रबार दिउँसो भीमफेदी गाउँपालिका– २, चुनियाँ र बाघमाराबीचमा दुर्घटना भएको हो । दुर्घटना हुदाँ चालक र २ म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा गाडी चालक मकवानपुर बज्रवाराहीका करिब ५० वर्षीय शेरबहादुर गोपाली मकवानपुरनामटारकी म्यादी प्रहरी सपना बर्तौला र हेटौडाकी लक्ष्मी स्थापित रहेको जिल्ला प्रहरी प्रवक्त डिएसपी दिलिपराज झाले बताए । गम्भीर घाइते मकवानपुर भीमफेदीकी म्यादी प्रहरी दिलमाया भोम्जनलाई उपचारका लागि चुरेहिल अस्पतल हेटौडामा ल्याएको छ । थाहा–७, सरस्वती बुथमा खटिएका महिला म्यादी प्रहरी दुर्घटनामा परेको स्थानीय विनायक गोलले जानकारी दिए ।

विहिवार भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौडा फर्किदै गरेको ना. ३ ख ५९१८ नम्बरको ट्रिपर अचानक सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।