ट्रम्प उत्तर कोरियाको प्रस्तावप्रति सशंकित : आणविकीकरणको मुद्दा

२४ फाल्गुन २०७४, बिहीबार ०९:५१

फागुन २४, काठमाडौं ।

उत्तर कोरियाले आणविक हतियार त्याग्ने कुरालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सतर्कतापूर्वक प्रतिक्रिया जनाएका छन् ।

ट्रम्पले भने, ‘दक्षिण कोरिया र उत्तर कोरियाबाट आएका बयानहरू एकदम सकारात्मक छन् तर यो गलत आशा पनि हुन सक्छ ।’

दक्षिण कोरियाका अधिकारीहरूले किम जोङ–उनलाई सोमवार भेट्दा गैरआणविकीकरणको मुद्दा उठेको दक्षिणले बतायो ।

किम अमेरिकासँग वार्ता गर्न तथा हतियार परीक्षण रोक्नका लागि तयार रहेको पनि सउलले बतायो ।

तर उत्तर कोरियासँग भएका अघिल्ला वार्ताहरूको कुनै परिणाम आएको थिएन ।

अनि प्योङयाङ आफैंले पनि यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

ट्रम्पले भने, ‘हामी उत्तर कोरियाका सम्बन्धमा लामै बाटो हिँडिसकेका छौं ।’

प्योङयाङले दक्षिण कोरियाको प्योङचाङ ओलम्पिकमा भाग लिने निर्णयलाई पनि ट्रम्पले प्रशंसा गरे ।

तर प्योङयाङले गैरआणविकीकरण वार्ता गर्ने अफर गर्नुका पछाडि प्रतिबन्धहरू कारण रहेको र हामीले उत्तर कोरियालाई जे गरिरहेका छौं त्यसले दबाब दिएको पनि ट्रम्पले भने ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अमेरिका ‘किम शासनलाई आणविक कार्यक्रम अन्त्य गर्नका लागि अधिकतम दबाब दिनका लागि प्रतिबद्ध रहेको’ बताए ।

यसै साताको अन्त्यतिर दक्षिण कोरियाली प्रतिनिधिमण्डलले वाशिङटनको भ्रमण गरेर अमेरिकी अधिकारीहरूलाई उत्तरसँगको वार्ताको बारेमा बताउने अपेक्षा गरिएको छ ।

बीबीसीबाट