ट्रम्पले अमेरिकी अन्तरिक्ष सेनाको तयारी गर्दै

५ असार २०७५, मंगलवार ०७:४७

असार ५, काठमाडौं । बीबीसीबाट

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैठौं शाखा बनाउने इच्छा व्यक्त गरेका छन् । यो अन्तरिक्ष सेना वा स्पेस फोर्स हुनेछ ।

देशको सुरक्षाका लागि यो आवश्यक भएको ट्रम्पले सोमवार बताए । यसबाट अन्तरिक्षमा अमेरिकाको दमदार र प्रभावकारी उपस्थिति हुने उनको दाबी छ ।

यो फरक किसिमको सेना भएको उनको भनाइ छ । यसले देशको सुरक्षा पनि बढ्ने अनि नयाँ रोजगारी पनि सिर्जना हुने र अर्थव्यवस्थामा सुधार आउने उनी बताउँछन् ।

 

यस मामिलामा चीन र रुसजस्ता देशलाई शीर्ष स्थानमा राखिरहन अमेरिकाले दिन नमिल्ने उनी बताउँछन् ।

 

अमेरिका फेरि चन्द्रमामा जाने र मानिसहरूलाई मंगल ग्रहमा पनि पठाउने ट्रम्पले वाचा गरे ।

 

ट्रम्पले घोषणा गरे, ‘यो एकदम महत्त्वपूर्ण छ । म रक्षा मन्त्रालय पेन्टागनलाई अमेरिकी सेनाको छैठौं शाखाका रूपमा अन्तरिक्ष सेना तयार पार्नका लागि तुरुन्त काम शुरू गर्न निर्देशन दिँदैछु । वायुसेनाजस्तै अमेरिकाको अन्तरिक्ष सेना हुनेछ ।’

ट्रम्प राष्ट्रिय अन्तरिक्ष परिषद्सँग हुने बैठकअघिको पत्रकार सम्मेलनमा बोलिरहेका थिए ।

ट्रम्पले भने, ‘मैले डिसेम्बरमा एक ऐतिहासिक आदेशमा हस्ताक्षर गरेको थिएँ । सन् १९७२ पछि म फेरि अमेरिकीहरूलाई चन्द्रमामा पठाउँछु भनेको थिएँ मैले । अब हामी चन्द्रमामा आफ्नो झण्डा र कदमको निशान मात्र छोड्दैनौं, लामो समयका लागि त्यहाँ आफ्नो उपस्थिति बनाउँछौं ।’

उनले थपे, ‘हामी आफ्नो अर्थव्यवस्था विस्तार गर्छौं र फेरि मंगल ग्रहमा जानका लागि मिसन शुरू गर्छौं । यो काम छिट्टै शुरू हुनेछ ।’

यो सबै कसरी हुनेछ र नयाँ स्पेस फोर्सको रूप कस्तो हुनेछ र त्यसले कसरी काम गर्नेछ भन्ने विषयमा कुनै जानकारी छैन ।