ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर, विश्वका ५७ मुस्लिम देशहरुको आक्रोश

२८ मंसिर २०७४, बिहीबार ०१:५१

मंसिर २८, काठमाडौं । विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

 

अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन ९ओआइसी०को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो ।भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने निर्णयप्रति आपत्ति जनाएको छ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयले आक्रोस निम्त्याएको भेलाको ठहर छ ।  भेलापछि जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासलाई कम आँकेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने उल्लेख गरिएको छ ।

 

भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णय गरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारे ।उनले अब संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनुपर्ने बताए । अमेरिकाको निर्णयसँगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको दाबी गरे ।  अमेरिकाको भूमिका आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै उनले अमेरिकीहरु पुरै इजरायलको पक्षमा लागेको आरोप लगाए ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले विश्वका अन्य देशलाई जेरुसेलमको मुद्दामा अमेरिकाले डर–त्रास देखाइरहेको बताए ।  इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय ‘गैरकानुनी र उक्साउने खालको’ भएको टिप्पणी गरे ।(एजेन्सी)