ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

२४ पुष २०७७, शुक्रबार १३:३५

पाँचथर । पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।

ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।