टिकट नै नपाएका महरा चुनिए राष्ट्रियसभामा

२६ माघ २०७४, शुक्रबार ०८:५९

माघ २६, काठमाडौं ।

डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ताको दिन माघ १० गते माओवादीका जिल्ला नेता महेशकुमार महरा घरमै बसिरहेका थिए ।

उनी आफूलाई उम्मेदवार सिफारिस गर्न गरेको सबै प्रयास निरर्थक भएपछि पार्टीसँग रिसाएका थिए ।

बिहान ९ बजे एकजना साथीले फोन गरे ‘नागरिकता र अपाङ्गता परिचय पत्र बोकेर तुरुन्त डोटी आउनू ।’ फेरि पनि झुक्याउन लागेको भन्दै उनी आउन मानेनन् । त्यसपछि पार्टी नेता लेखराज भट्टले नै फोन गरेर तुरुन्त आउन भने ।

‘पार्टी निर्देशन मान्नैपर्‍यो’ भन्दै उनी डोटी आइपुगे । चार बजेतिर उनको उम्मेदवारी पनि दर्ता भयो । माघ २४ गते भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित पनि भए ।

महराले प्रदेशसभाको समानुपातिकको सूचीमा नै आफ्नो नाम राख्न पार्टीलाई भनेका थिए । त्यसमा नाम नपरेपछि राष्ट्रियसभाका लागि लबिङ गरेका थिए, त्यसमा पनि सफलता हात नलागेपछि उनी रिसाएर चुपचाप बसेका थिए ।

कसरी बने त उनी उम्मेदवार ?

  • महरालाई उम्मेदवारी दर्ताका लागि हतार हतार बोलाउनुको पनि रमाइलो प्रसंग 

माओवादीले राष्ट्रियसभा सदस्यमा तय गरेको उम्मेदवार लालीराम लुहारले अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिन नपाउने भए । त्यसैले उम्मेदवारी दर्ताकै बेला अपाङ्ग वा अल्पसंख्यक कोटाको अर्को उम्मेदवारको खोजी भयो । डोटी जिल्ला संयोजक जंग बिक ‘शैलेन्द्र’ को नाम पनि आयो । तर शैलेन्द्रसंग कसैको फोन सम्पर्क भएन ।

तेस्रो विकल्पमा महेशको नाम आएको थियो । ‘मैले पटक पटक दावी गर्दा पनि मेरो नाम सिफारिस नभएपछि रिस उठेको थियो, त्यसैले मैले नेताहरुका फोन रिसिभ गर्न पनि छोडेको थिएँ’ महरा भन्छन् ‘प्रदेश संगठन कमिटीका एक मित्रले पटक पटक फोन गर्नुभयो, अनि फोन उठाएपछि जानकारी भयो ।’

त्यतिले मात्रै उनी आउन मानेका थिएनन्, तर माओवादी प्रदेश ७ का इन्चार्ज लेखराज भट्टले नै फोन गरेपछि भने उनी आएका थिए ।

विद्यार्थी जीवनदेखि भूमिगत राजनीति सुरु गरेका महराको २०६२ फागुन १४ गते पाल्पाको धर्मपानीमा भएको दोहोरो भीडन्तमा गोली लागेपछि अपाङ्ग बनेका हुन् ।

राष्ट्रियसभा सदस्य भएपछि दंग परेका महरा भन्छन् ‘राजनीतिकर्मीहरुको आफ्नै खालको लक्ष्य त हुन्छ नै तर राष्ट्रियसभा जस्तो सदनमा म यति छिट्टै पुग्छु भन्ने सोचेको थिइन’ २०३८ सालमा जन्मिएका महरा भन्छन् ‘जे होस् पुगियो ।’