“टापुहरुको देशमा” संकटकाल घोषणा

२३ माघ २०७४, मंगलवार ०७:४२

माघ २३, काठमाडौं । बीबीसी

मालदिभ्समा राजनीतिक गतिरोध लम्विएपछि १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल गयुमले संकटकाल घोषणा गरेका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई रिहा गर्न आदेश दिएको थियो ।

तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट गहिरिएको थियो ।


सोमबार साँझ मालदिभ्सका राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् संकटकालको सूचना दिइएको थियो । राष्ट्रपति कार्यालयबाट जारी सूचनामा लेखिएको छ, ‘१५ दिनको लागि राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुमले संकटकालको घोषणा गरेका छन् । अब केही अधिकार सीमित रहनेछन् । सामान्य गतिविधि, सेवा र व्यापारमा भने असर पर्ने छैन ।’

सूचनामा थप लेखिएको छ, ‘देशका सबै नागरिक र यहाँ बस्दै आएका विदेशीहरुको सुरक्षा ग्यारेन्टी हुने मालदिभ्स सरकार आश्वस्त पार्दछ ।’संकटकाल घोषणा भएपछि आरोपीहरुलाई पक्रन सुरक्षाकर्मीले थप अधिकार पाएका स्थानीय समाचार माध्यमले लेखेको छ ।

सरकारले संसद पनि निलम्बन गरिसकेको छ ।                                                                                                                                                                                                                                  सर्वोच्चले यदि राष्ट्रपति यमिनविरुद्ध महाअभियोग लगाउने कोशिस गर्‍यो भने त्यसको प्रतिरोध गर्न पनि सरकारले सेनालाई आदेश दिएको छ ।