टाइम पत्रिकाको कभरमा ट्रम्प र पुटिन

४ श्रावण २०७५, शुक्रबार १६:१७

साउन ४, काठमाडौं । एजेन्सी

अमेरिकाको प्रभावशाली पत्रिका टाइमले आफ्नो कभर पृष्ठमा राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीरलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिसाएर (मोर्फ) प्रस्तुत गरेको छ ।

तस्वीरमा ट्रम्पको कपाल, आँखीभौं र ओठ छन् भने नाक र नीला आँखा चाहिँ पुटिनका छन् । भिजुअल आर्टिस्ट न्यान्सी बर्सनले यो तस्वीर तयार पारेकी हुन् ।

टाइम पत्रिकाले एक बयान जारी गर्दै भन्यो, ‘यो तस्वीरले अमेरिकी परराष्ट्रनीतिको वतर्ममान स्थितिलाई झल्काउँछ ।’

ट्रम्प र पुटिनले यसै हप्ता फिनल्यान्डको हेल्सिन्कीमा पहिलोपटक औपचारिक वार्ता गरेका थिए । वार्तापछि ट्रम्ले अमेरिकी चुनावमा रुसले हस्तक्षेप नगरेको भन्दै आफ्नै देशको जासूसी संयन्त्रमाथि प्रश्न उठाएका थिए ।

त्यसपछि उनको कडा आलोचना भयो । तर फिनल्यान्डबाट फर्केपछि उनले बयान फेरे र पुटिन रुसको राष्ट्रपति भएकाले उनी अमेरिकी चुनावमा भएको हस्तक्षेपका लागि दोषी रहेको बताए ।

आगामी ३० जुलाईमा प्रकाशन हुने यो कभरको भिडियो पनि बनाइएको छ ।

अघिल्लो महिना पनि टाइम पत्रिकाले आफ्नो कभरमा ट्रम्पको तस्वीर प्रकाशित गरेको थियो । उनी रुँदै गरेकी एक बच्चीलाई घुरेर हेरिरहेको रूपमा प्रस्तुत गरिएका थिए ।

ट्रम्प प्रशासनको आप्रवासी नीतिअन्तर्गत बालबालिकालाई उनीहरूका आमाबुवासँग अलग गरिएकोमा त्यसको आलोचना गर्न यो तस्वीर प्रकाशित भएको थियो ।