टाइब्रेकरमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

२० असार २०७५, बुधबार ०४:४१

असार २०, काठमाडौं ।

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो ।

इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने ५७ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत लिएको थियो ।

कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरे । यो सँगै उनले चालु विश्वकपमा आफ्नो ब्यक्तिगत गोलसंख्या ६ पुर्‍याएर गोल्डेन बुटमा दौडमा सबैभन्दा अघि छन् ।

तर दुई मिनेट सम्हालिन नसक्दा इंग्ल्याण्डले खेल जित्न थप ३० मिनेट खेलेर पेनाल्टी सुटआउटसम्म पुग्नुपर्‍यो।

खेलको ९३ औं मिनेटमा कोलम्बियाका यारी मिनाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । कर्नरबाट आएको पासमा उनले हेडमार्फत सुन्दर गोल गरे ।

त्यसपछि थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट हार जित छुट्याइएको हो ।