झूटा प्रचार गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग

२८ श्रावण २०७६, मंगलवार १४:२३

काठमाडौं , सामाजिक सञ्जाल र अनलाइनमा प्रचार भइरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व प्रकाश दाहालको बैंक खातामा २१ अर्ब रुपैयाँ रहेको सूचनाप्रति प्रचण्डको सचिवालयको ध्यानाकर्षण भएको छ । सचिवालयले झूटा प्रचार गर्नेलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले भ्रामक समाचारको खण्डन गरेको छ । ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरूको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ,’ सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ, ।

यस्तो छ विज्ञप्ति

आदरणीय जनसमुदाय,

यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।

यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।
२८ साउन, २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय