झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

२२ फाल्गुन २०७५, बुधबार १३:१०

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा गएर नेत्र विक्रम चन्द विप्लब नेतृत्वको माओवादी तर्फ संकेत गदै लुटपाट गर्ने तथा चन्दा उठाउने धन्दा गर्ने समूहलाई कम्यूनिष्ट भन्न नसकिने बताउनु भयो । “जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस्,” प्रधानमन्त्री ओलीले भन्नु भयो, “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपामा आएर समाहित हुनुहोस् ।” उहाँले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताउनु भएको छ ।
४६ औं सुखानी स्मृति दिवसको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएको उहाँको निजी सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गर्दै भन्नु भयो, ,“म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भन्नु भयो, “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”
प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पूरा गरेको बताउनु भयो । “झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भन्नु भयो , “म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता पनि सहिदका सपना पुरा गर्नका लागि भएको हो ।”
प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताउनु भयो । “केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास,निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको छ ”उहाँको भनाई थियो ।प्रधानमन्त्री ओलीले सुखानी सहिदको सालिकमा माल्यापर्ण गर्नु भएको थियो । २०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुंइकेल,बीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।