जुम्ला गाेठीगाउँमा आगलागी

१४ माघ २०७७, बुधबार १४:४७

 

जुम्ला । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् । चुलोबाट आगो सल्किएको आशङ्का । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

२०७७ माघ १३ गते राति ७ बजे तिला गाउँपालिकाको गुठी भन्ने गाउँमा आगलागी भएको थियो । घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर टाढा निकै दुर्गममा भएकाले समयमै सुरक्षा निकाय पुग्न नसक्दा, स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले बताएका छन् ।आगलागीको खबरपछि प्रहरी निरीक्षक इन्स्पेक्टर नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक सई झुपेन्द्रबहादुर शाहीको कमाण्डमा तीन जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा तीन जनाको टोली खटेर क्षतिको विवरण लिइरहेको छ ।

प्रहरी त्यहाँ नपुग्दै बस्ती नै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउँदे सिजनमा भण्डार गरेको अन्नसमेत जलेर नष्ट भएको बताउनुभयो । गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् । चुलोबाट आगो सल्किएको आशङ्का छ । एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहत र पुनर्स्थापनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा बैठक बसेर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।