जावलाखेलमा गोदावरी पुष्प मेला सुरु

१ कार्तिक २०७६, शुक्रबार १७:३२

काठमाडौं ,कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्धारा आयोजित मेलाको उद्घाटन गर्दै खनालले पुष्प नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेको भएपनि अपेक्षाअनुसार गति लिन नसकेको बताउनु भयो । उहाँले पुष्प व्यवसायको प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फयानसँग आग्रहसमेत गर्नु भयो ।

उहाँले भन्नु भयो– पुष्प व्यवसायको प्रवद्र्धनका लागि सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्रमार्फत नै काम गर्न सकिन्छ, के गर्दा राम्रो हुन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ, बजेटको खासै समस्या हुुने म देख्दिन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताउनु भयो । उहाँले बाँझो रहेको कृषि भूमिमा पुष्पखेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने भएकोले त्यसतर्फ पनि सोच्नुपर्ने बताउनु भयो ।
रोपेर फूल गोदावरी, सजाआंै घर आँगन वरिपरि भन्ने नाराका साथ नेपालीहरूको दोस्रो महत्वपूर्ण चाड तिहारको पूर्वसन्ध्यामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताउनु भयो ।

मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । उत्कृष्ट नर्सरी पुरस्कृत फयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ ।