जापानमा १ नेपालीको मृत्यु, १ गम्भिर घाइत

४ माघ २०७४, बिहीबार ०७:२६

४ माघ, काठमाडौं ।

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।
घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने घाइतेको पहिचान हुन सकेको छैन ।

घटना मंगलबार मध्यरात भएको भए पनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो । दुवै जना दुई वर्षअघि रोजगारीका लागि जापान आएका थिए ।
टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेको नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

  • दुईजनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डोर्याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो ।
बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।

नियन्त्रण गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा जापानस्थित कुनै पनि नेपाली समाजले आधिकारिक रुपमा केही बोलेका छैनन् ।