जर्मन चान्सलर मर्कललाई चौथो कार्यकालका लागि बाटो खुला

२१ फाल्गुन २०७४, सोमबार ११:०९

फागुन २१, काठमाडौं । एजेन्सी

जर्मन चान्सलर अंगेला मर्कलले उनको दलसँग गठबन्धन गर्ने सोसल डेमोक्रेट पार्टीको निर्णयलाई आइतवार स्वागत गरेकी छन् । जर्मनीको भलोका लागि गठबन्धनले काम गर्ने उनले बताइन् ।

मर्कलले चौथो कार्यकाल चलाउने भएकी छन् । जर्मनीको दोस्रो सबभन्दा ठूलो पार्टी एसपीडीका सदस्यहरूले मर्कलको दलसँग गठबन्धन गर्ने निर्णय गरेसँगै उनलाई सत्ता चलाउन सहज हुने भएको छ ।

विगत १२ वर्षदेखि सत्तारूढ मर्कलले एसपीडीसँग गठबन्धनका लागि ठूलै कसरत गर्नुपरेको थियो ।

मर्कलको सीडीयू पार्टीको ट्विटर अकाउन्टमा मर्कलको एक पोस्ट छ जसमा भनिएको छ, ‘स्पष्ट निर्णय लिएकोमा एसपीडीलाई बधाई
दिन्छु र जर्मनीको विकासका लागि थप सहयोगको अपेक्षा गर्छु ।’

शुरूमा एसपीडीले मर्कलको नेतृत्वमा चार वर्ष काम गर्न अस्वीकार गरेको थियो । तर अहिले एसपीडीका कार्यवाहक अध्यक्ष ओलफ स्कूल्जले उनीसँग काम गर्न सहमति जनाए ।

पार्टीका तर्फबाट मन्त्रिमण्डलमा तीन महिला र ती पुरुष पठाउने योजना बनाएको उनले बताए ।