जमघट नगरौंः भोज, उत्सव, पर्व, मेलामा सचेत

३० फाल्गुन २०७६, शुक्रबार १०:५२

काठमाडौं, सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो।

निर्देशनमा सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्टमा स्वास्थ्यकर्मीको टोली खटाई परीक्षण गर्ने व्यवस्था मिलाउन आह्वान गरिएको छ।

मन्त्रालयका सहसचिव वसन्त अधिकारीले सबै स्थानीय तहका नाममा जारी पत्रमा सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सूचित गरिएको जानकारी दिए।

‘सरकारी कार्यक्रम त रोकिए तर सार्वसाधारण भीडभाड जाने क्रम रोकिएको छैन,’ उनले अन्नपूर्णसँग भने, ‘मिनिबसमा कोचिने, भोजभतेरमा जाने जस्ता काम जारी नै छन्, यो पनि जोखिमपूर्ण छ। त्यस कारण यस्ता कार्यलाई नियन्त्रण गर्न स्थानीय तहमार्फत आग्रह गरेका हौं।’

भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई सबै यात्रुको स्वास्थ्य जाँच÷स्क्रिनिङ प्रभावकारी पार्नसमेत भनिएको छ।

चीनसँग जोडिएका मुख्य नाका रसुवागढी र तातोपानीमा उच्च सतर्कता अपनाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गरी यात्रुको स्वास्थ्य निगरानी तथा परीक्षण गर्न पनि सरकारले निर्देशन दिएको छ।

भारतसँग जोडिएका मुख्य नाकाहरू पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाहार गड्डाचौकीलगायतमा अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन तथा स्थानीय तहका अस्पताल र स्वास्थ्य केन्द्रमा आवश्यक मात्रामा छुट्टै बेडको व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ।

बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी पठाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।

मन्त्रालयले स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको बजारमा सहज आपूर्तिको व्यवस्था गर्न र बजार अनुगमन तथा नियमन कार्य प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ।

उपभोक्तालाई दैनिक उपभोग्य वस्तु तथा सामग्रीको अस्वाभाविक संग्रह नगर्ने व्यहोराको सन्देश जारी गर्ने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिएको छ।

सबै स्थानीय तहलाई भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचारप्रसार गर्ने÷गराउने कार्यमा तदारुकता दिन आग्रह गरेको छ।(आजको अन्नपूर्ण पोष्टबाट)