जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार

१ मंसिर २०७६, आईतवार १०:१५

हेटौँडा , गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् ।

कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । यद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

उनको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जेलर खनालले बताउनुभयो । कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको उनले जानकारी दिए ।