जनताको रिपोर्टले मुठभेडमा मारिएको भन्दैनः जनार्दन शर्मा

९ असार २०७६, सोमबार ११:५६

काठमाडौं , पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताउनु भएको छ । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उहाँको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भन्नु भयो , ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

गोली लागेर मारिएको व्यक्तिको हात ६ , ७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उहाँको भनाइ छ । उहाँले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनु भयो । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताउनु भयो ।