जनकपुर–जयनगर रेलसेवा सञ्चालनमा आउने, रेलका इञ्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने अन्योलमा

२४ जेष्ठ २०७५, बिहीबार १०:२०

जेठ २४, काठमाडौं ।

पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–जयनगर खण्ड आगामी अक्टोबरदेखि ब्रोडगेज रेलसेवा सञ्चालनमा आउने भएको छ । चार वर्ष अघिसम्म न्यारोगेजमा सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल सेवा नयाँ मोडालिटीमा पुनः सञ्चालनमा आउन लागेको हो ।

भारत सरकारले सञ्चालनमा ल्याएको सो रेल सेवा नयाँ निर्माण शुरु गरेको सो रेल सेवा ब्रोडगेजमा सञ्चालन गर्ने गरी तयारी भइरहेको रेल विभागका सूचना अधिकारी एवं वरिष्ठ इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

विभागका अनुसार आगामी अक्टोबरदेखि सञ्चालनमा आउने गरी ३५ किलोमिटरमा ब्रोडगेजको रेल सञ्चालनलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको विभागले जानकारी दिएको छ । जसमध्ये आगामी अक्टोबरदेखि ३५ किलोमटिर सञ्चालनमा आउने र बाँकी काम भइरहेको छ ।

‘भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किलोमिटरखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ ।’ सूचना अधिकारी उपाध्यायले भने, ‘भारतले बर्दिवासदेखि बिजलापुरसम्मको जम्मा ७० किमी दूरीमा रेलमार्ग अहिले बनाउन लागेको छ । यसमध्ये आगामी अक्टोबरसम्ममा ३५ किमी पूर्णरूपमा तयार हुनेछ ।’

जोगबनीदेखि विराटनगर ८० प्रतिशत काम सकिएको छ । जग्गाको विवादले कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन ।

विभागकाअनुसार भारतले निर्माण गरिरहेको ७० किमी रेलमार्गमध्ये तीन किमी भारतीय भूमिमा र ६७ किमी नेपाली भूमिमा पर्छ ।

उक्त रेलमार्गको निर्माण कार्य सन् २०१४ देखि शुरु भएको हो । नयाँ निर्माणका क्रममा तीन वर्षयता बन्द रहेको जनकपुर–जयनगर रेल मार्गमा अहिले कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवास गृह लगायतका काम पनि भइसकेको छ ।

नेपालसँग अहिले रेल नभए पनि यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुराकानी भइरहेको उपाध्यायले बताए ।

रेलका इञ्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भने भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने यसअघि नै जानकारी गराइसकेको छ ।