छुट्टा छुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

२९ भाद्र २०७७, सोमबार १४:२८

काठमाडौं, देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ। सप्तरी, धनुषा, तेह्रथुम र रूपन्देहीमा उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको बोदेबर्साइन नगरपालिका ३ कुसमहार बस्ने सञ्जय मलिकको तीन वर्षीय छोरा अकाश मलिकको पोखरीमा डुबेर मृत्यु भएको छ। आफ्नै घरको छेउको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका ३ डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका घर भएका रामबाबु मण्डलकी १० वर्षीया छोरी कालीकुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ। पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

यसैगरी, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका १ खाकुरा बस्ने ७० वर्षीय हंसध्वज लिम्बूको सोही गाउँपालिका १ स्थित खाकुरा भन्ने स्थानको लुन्द्रुङ खोलामा डुबेर मृत्यु भएको छ।

रूपन्देहीको रोहिणी गाउँपालिका ३ रामनगरस्थित कलभर्टमा जमेको पानीमा डुबेर लक्ष्मीनगर बस्ने ४० वर्षीय सत्यप्रकाश चौधरीको मृत्यु भएको छ।

घटनाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।