चोरी गर्ने महिला पक्राउ

२४ भाद्र २०७६, मंगलवार १२:१३

काठमाडौँ , महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सो उजुरी पश्चात प्रहरीले घरमा जडान गरेको सिसी क्यामेराको सहायताबाट उक्त महिला चोरीमा संलग्न भएको पुष्टि भएको हो ।

गिरीका अनुसार दर्नाल डा घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन् । घरमा कोही नभएको मौका छोपेर महिलाले घरको सेफमा राखेको सुनका गहना, विदेशी मुद्रा तथा नगद गरी रु पाँच लाख मूल्य बराबरको सामान चोरी गर्दै सुन पसल र मनि एक्सचेन्जमा गएर अवैधरुपमा सटही गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैधरुपमा सटही गर्ने करुण सुनचाँदी पसल सञ्चालक राजन सुनुवार र न्यू नेपाल मनि एक्सचेन्जका सञ्चालक उत्तम भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थाल्ने निरीक्षक गिरीले जानकारी दिए ।