चेल्सीले किन्यो स्पेनिस गोलकिपर केपा : एक कीर्तिमान

२४ श्रावण २०७५, बिहीबार १६:३३

साउन २४, काठमाडौं । एजेन्सी

इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट गोलकिपर केपा एरिजाबालागालाई कीर्तिमानी रकममा भित्र्याएको छ ।

चेल्सीले २३ वर्षका गोलकिपर केपालाई ७१ मिलियन पाउण्डमा ल्याएको हो । लिभरपुलले रोमाबाट गोलकिपर एलिसनलाई तिरेको ६६.८ मिलियन पाउण्डको कीर्तिमान तोडिने गरी चेल्सीले केपालाई किनेको हो ।

गोलकिपर एलिसन जुलाईमा लिभरपुल आउँदा जियानलुइजी बुफोन १७ वर्षसम्म महंगो गोलकिपर बनेको कीर्तिमान तोडिएको थियो ।

एलिसनको कीर्तिमान २० दिन रहन नपाउँदै केपाले नयाँ कीर्तिमान बनाएका हुन् । २००१ मा बुफोन ४७.८ मिलियन पाउण्डको कीर्तिमानी रकममा पार्माबाट युभेन्टस गएका थिए ।

गोलकिपर थियाबट कोरटोइस रियल मडि्रड जाने भएपछि चेल्सीले उनको स्थानमा केपालाई ल्याएको हो । केपा स्पेनको राष्ट्रिय टिममा पनि म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गापछि दोस्रो रोजाइमा छन् ।

केपाले गएको दुई सिजनमा गरेर ला लिगामा ५३ खेल खेलेका छन् भने स्पेनबाट एक खेल खेलेका छन् ।

‘चेल्सीमा धेरै कुराले मलाई आकषिर्त गरेको हो । चेल्सीले जितेका उपाधि, अरु खेलाडी, सहर र इंग्लिस प्रिमियर लिग सबै राम्रो लाग्छ’ केपाले भने ।

केपामाथि रियल मड्रिडले पनि आश देखाइरहेका बेला उनले एथ्लेटिको बिल्बाओमा २०२५ सम्मका लागि सम्झौता गरेको भए पनि चेल्सीले उनलाई कीर्तिमानी रकम तिर्न सफल भएको हो ।