चुनाव हारेर के भयो ? कांग्रेस नेता राजीव शाहले व्यक्तिगत लगानीमा बनाए सुबिधासम्पन्न अस्पताल

९ मंसिर २०७५, आईतवार ११:५७

काठमाण्डौ, नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजिव विक्रम शाहले जाजरकोटको छेडागाड नगरपालिका ५, बडाबनमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरेका छन ।

समाजसेवामा समेत सक्रिय शाहले ६ करोड व्यक्तिगत लगानीमा अस्पताल भवन लगायत भौतिक संरचना निर्माण गरेको बताइएको छ ।शाहले २५ शैंयाको कुमारी ट्रष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन् । अस्पताल भवनको निर्माण कार्य गत बर्षबाट शुरु भएको हो ।सामुदायिक अस्पताल संचालन गर्न शाहले बडाबनमा इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसुती, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शैचालय लगायत सेवा संचालनका लागि दर्जन भवन बनाएका छन् ।

बडाबनका स्थानीयले अस्पतालका लागि ५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।जाजरकोटका जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी दुर्गम गाँउमै विशेषज्ञ सेवा दिने उदश्यले अस्पताल निर्माण गरिएको शाहले बताए । शाहका अनुसार, आउने बैशाखदेखि अस्पताल पुर्ण रुपमा संचालनमा आउनेछ ।गत निर्वाचनमा शाह हाल वनमन्त्री रहेका नेकपा नेता शक्ति वहादुर वस्नेतसँग केही मतान्तरले पराजित भएका थिए ।