चुनावलाई स्वच्छ र भयरहित बनाउन हाम्रो जोडबल – शेरबहादुर तामाङ

७ मंसिर २०७४, बिहीबार १४:०९

मंसिर १० गते सम्पन्न हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मौनअवधि सुरु हुनै लाग्दा उम्मेद्वारहरु
मतदाताको जोडघटाउ सुरु गर्न थालेका छन् । त्यस्तै सिन्धुपाल्चोकको जिल्लाको क्षेत्र नं. २ ले पनि सबैको ध्यान केन्द्रित गरेको छ । सो क्षेत्रमा नाम चलेका नेताहरुको उम्मेदवारीले रहेकाले सवैको आशा र चासो बनेको छ ।  यसै सेरोफेरोमा रहेर प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिन्धुपालचोक जिल्ला क्षेत्र २ मा नेकपा एमालेका केन्द्रिय सदस्य तथा वाम गठबन्धनका संयुक्त उम्मेद्वार शेरबहादुर तामाङसँग आयोखबर डटकमले गरेको कूराकानीको  आधारमा सम्पादित अंश :

 

पूर्व सांसद समेत रहेका एमाले नेता सेरबहादुर तामाङ  सिन्धुपालचोक क्षेत्रमा समृद्ध विकास र परिवर्तनकै लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले राजनितिक परिवर्तनलाई संस्थागत गर्न र युवालाई स्वरोजगारको वातावरण सिर्जना गराई आत्मनिर्भर बनाउन एक घर एक रोजगार राज्यको तर्फबाट व्यवस्थापनमा जोड दिई आर्थिक समृद्धिको बाटोमा समाज र सिंगो राष्ट्रलाई बदल्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । संविधान सभामा त्यस क्षेत्रबाटै निर्वाचित तामाङलाई यस पटकको प्रतिनिधिसभा निर्वाचनमा जनताले थप आशा गरेको र आफुले विकास गर्छु भनेरै जनताले विश्वासका साथ भोट हालेर जिताउने कुरामा विश्वस्त रहेको बताए ।

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष समेत रहेको पशुपति शमसेर राणा पनि प्रतिस्पर्धामा रहेको भन्ने प्रश्नमा उनले आफुसँग कोही प्रतिस्पर्धीमा नरहेको बताउँदै यस निर्वाचनमा ढुंक्काका साथ निर्वाचित हुने दाबी गरे । पटक–पटक भएको निर्वाचनमा जनताले धेरै पटक भोट दिए पनि विकासको गति तिब्र नभएको जिज्ञसामा उनले भने, – ‘सिन्धुपाल्चोकको हकमा त्यो छैन, विकास हुदै आएको छ । यहाँका जनताहरु निरास छैन्न । विकासले तिव्ररुपमा गति लिन नसक्दा केही निरासा हुनु स्वभाविके हो । तर यसलाई पनि म सम्बोधन गर्दै जानेछु ।’

उनले थपे यस क्षेत्रका जनताले राम्रोसंग आफुलाई बुझेको र मंसिर १० गते पनि आफुलाई अत्यधिक मत दिएर जिताउने भनाई व्यक्त गरे । उनले सिन्धुपाल्चोकलाई पर्यटकीय क्षेत्रमा परिणत गरी आम युवाहरुलाई रोजगारको वातावारण तयार गर्ने, खेतीयोग्य जमिनलाई वैज्ञानिक कृषि प्रणालीमार्फत तरकारी खेती तथा प्रशोधन केन्द्र स्थापना गराउने, मेलम्ची खानेपानी आयोजनालाई तिब्र गतिमा काम सम्पन्न गराई स्थानियहरुलाई सेयर उलब्ध गराउने, मस्टरडिग्री अध्यपन गराउने क्याम्पसको निर्माण गर्ने लगायत आफ्नो योजनाहरु तय गरी चुनावमा होमिएको र जनताले विश्वास दिईसकेको बताए ।

घरदैलो अभियानका क्रममा जनताबाट पाएको सद्भाव र मायाले नै आफ्नो जित सुनिश्चित भएको उल्लेख गर्दै अन्य दलहरुले जस्तो भड्किलो र खर्च नगरी शान्तिपूर्वक तथा रचनात्मक तरिकाले चुनावी अभियान सम्पन्न भएको बताए । उनले भने ‘अब मौन अवधी सुरु हुदैँ छ हामी पार्टी कार्यकर्ता र शुभचिन्तकहरुलाई सुरक्षा प्रत्यभूति दिलाउन रणनीति अपनाउँदै अगाडी बढेको छ ।’ “चुनावलाई स्वच्छ र भयरहित बनाउन हाम्रो जोडबल रहनेछ, हामीले निर्वाचन आचारसंहिताको ख्याल गरेर आफ्नो गतिविधि सञ्चालन गरिरहेका छौं,।” उम्मेद्वार सेरबहादुर तामाङले भने ।