चुनावकै मुखमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा

६ मंसिर २०७४, बुधबार ०२:१७

मंसिर ६, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो ।  भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् ।  त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी छन् ।

सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।